एग्बोसा (EGBOSA) को १६औं वार्षिक साधारण सभा पोखरामा भव्यताका साथ सम्पन्न

पोखरा, गण्डकी प्रदेश मिति: २०८२ पौष १९ गते, शनिबार (तदनुसार 3rd Jan, 2026 (Saturday))

गण्डकी बोर्डिङ स्कूलको भूतपूर्व विद्यार्थी संघ (एग्बोसा) को १६औं वार्षिक साधारण सभा गत पौष १९ गते शनिबारका दिन पोखराको न्युरोड स्थित सिटी स्क्वायर व्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका उपाध्यक्षको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बोर्डिङ स्कूलका प्रधानाध्यापक डा. विश्व युधिर पौडेल घर्ती को प्रमुख अथितित्व रहेको थियो भने पहिलो ब्याच देखि हालसालै दीक्षित ब्याच सम्मका भूतपूर्व विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

यस पटकको साधारण सभालाई विगतका वर्षहरू भन्दा फरक र थप प्रभावकारी बनाउन औपचारिक सत्रलाई अत्यन्तै छोटो र छरितो बनाइ संस्थाका सह-सचिव ई. संजय भण्डारीले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रमको मुख्य उद्देश्य सदस्यहरूबीचको आपसी सम्बन्ध र भाइचारालाई सुदृढ बनाउनु रहेकोले औपचारिक कार्यक्रमपश्चात् अधिकांश समय परिचय सत्र, नेटवर्क विस्तार तथा भलाकुशारीका लागि छुट्याइएको थियो।

कार्यक्रमका केही मुख्य आकर्षणहरू निम्न रहेका थिए:

  • संक्षिप्त औपचारिक सत्र: संस्थाको गत आ.व. को सांगठनिक प्रतिवेदन (सचिवालयको प्रतिवेदन तथा आर्थिक प्रतिवेदन) र आगामी कार्ययोजनामाथि संक्षिप्त छलफल गरी औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो।
  • परिचय सत्र: “राउन्ड द हल” परिचय सत्रमार्फत हलमा उपस्थित सबै सदस्यहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक परिचय दिँदै पुराना स्मृतिहरू ताजा गरेका थिए।
  • लाईभ लक्की ड्र: कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन आयोजित लाईभ लक्की ड्र मार्फत ८ जना भाग्यशाली सदस्यहरूलाई विभिन्न पुरस्कारहरू प्रदान गरिएको थियो।

साधारण सभाको अन्त्यमा आयोजित खाजा तथा रात्रीभोज (Snacks and Dinner) मा सहभागीहरूले सुखद भलाकुसारी गर्दै कार्यक्रमको समापन गरेका थिए। एग्बोसा कार्यसमितिले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सदस्यहरू, स्वयंसेवकहरू र उपहार सौजन्य गर्ने साथीहरूमा हार्दिक धन्यवाद व्यक्त गरेको छ।

देशकै विकासमा विभिन्न स्थान अनि ओहोदामा रही दक्ष जनशक्ति मार्फत उल्लेखनिय भूमिका खेल्दै आएको यस संस्थाले गण्डकी बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थीलाई सहज रुपमा जोडिन विशेष अनुरोध समेत गरेको छ। नयाँ सदस्यताको फारम अनलाईन माध्यमद्वारा संस्थाको आधिकारिक वेवसाइट www.egbosa.org.np मा उपलब्ध हुने व्यवस्था रहेको बताइएको छ ।